COPOMIS
नेपालको अर्थतन्त्रको विकासमा सहकारी क्षेत्रको महत्वपूर्ण भुमिका रही आएको छ । वि.सं. २०१० देखि सहकारी विभागको स्थापना भएपश्चात सरकारले सहकारी क्षेत्रलाई सामाजिक न्याय र आर्थिक विकासको लागि एक महत्वपूर्ण साधनको रुपमा अंगीकार गरेको छ । देशको अर्थतन्त्रको दिगो विकासको लागि सहकारीलाई अत्यधिक परिचालन गर्ने नीतिले पनि सहकारी क्षेत्रलाई सबल, सक्षम र प्रभावकारी बनाउनु पर्ने परिस्थिति सिर्जना भएको देखिन्छ । संविधानले परिलक्षित गरेको उद्देश्य हासिल गर्नको लागि सहकारी संस्थाहरुलाई निजी क्षेत्रको कार्य प्रकृया भन्दा सहकारीताको मुल्य, मान्यता र सिद्धान्त बमोजिम संचालन गरिनु आवश्यक हुन्छ । तर वर्तमान अवस्थामा सहकारी संघ, संस्थाहरु संचालनको अवस्था के कस्तो छ भन्ने स्थितिको जानकारी सहजै प्राप्त गर्नसकिने सूचना संयन्त्रको विकास गर्न सकिएको अवस्था छैन । त्यसैले सहकारी व्यवसायको संचालन स्थिति र विद्यमान बिसंगतिहरुका अवस्थाहरु बारे सूचनाको जानकारी यथा समयमा नै लिई आवश्यक सुधारात्मक व्यवस्था गर्न उपयुक्त व्यवस्थापन सूचना प्रणालीको विकास गर्नु पर्ने स्थिति सिर्जना भएको हो । सहकारी प्रणालीलाई स्वनियमनमा संचालन हुने समुदायमा आधारीत उद्यम मानिएको छ । यस्को लागि क्षितीजिय र लम्बीय समन्वय तथा सम्बन्ध कायम गरी सहकारीहरुको व्यवसायिक विकास गर्नको लागि योजनाबद्ध रुपमा काम गर्न सहकारी सम्बन्धी तथ्याँक, आँकडा तथा सूचनाहरुको अपरिहार्यता रहन्छ जुन हालको कागजी र केही विद्युतीय रुपमा,प्राप्त हुने आँकडाहरुले पूर्ती गर्न सक्ने अवस्था देखिंदैन । सिद्धान्तको प्रचलन, जोखिमको आधारमा समस्याग्रस्त सहकारी संस्थाहरुको पहिचान सहकारी कार्यालय एवं स्वयं सहकारीका विषयगत र केन्द्रीय संघहरुबाट सहकारी संघ, संस्थाहरुको नियमन र अनुगमनमा प्रभावकारीता ल्याउन समेत प्रस्तुत सूचना प्रणालीले एक महत्वपूर्ण साधनको रुपमा काम गर्न सक्छ भने आम नागरिकहरुको सहकारी प्रतिको सकारात्मक साखलाई कायम राख्न एवं सहकारी संघ, संस्थाहरुको संचालनमा सुशासन कायम गर्दै त्यस्ता संघ, संस्थाहरुको बढदो संख्यालाई गुणात्मक रुपमा संचालन गर्न पनि सूचना संयन्त्रको महत्वपूर्ण भूमिका रहन्छ । त्यस्तै सहकारीको विकास, विस्तार र प्रवद्र्धनका लागि प्रारम्भिक तहदेखि राष्ट्रिय तहसम्मको सहकारी अभियानको स्वतःस्फूर्त संगठनात्मक संरचनाको बढदो उपस्थिति प्रशंशायोग्य भएपनि कार्यात्मक हिसाबले ती संस्थाहरुको समन्वयात्मक भूमिका, सहकारी चेतना र शिक्षाको विकास प्रभावकारी बनाउन तथा अनुगमनको कार्यहरु प्रभावकारी बनाउन नसकिरहेको हालको जस्तो पीडादायक अवस्था रहेको सन्दर्भमा सूचना संयन्त्रले महत्वपूर्ण साधनको रुपमा भूमिका निर्वाह गर्न सक्दछ । उपरोक्त पृष्ठभूमि रहेको सन्दर्भमा सहकारी सम्बन्धी आधुनिक सूचना ब्यवस्थापन प्रणालीलाई कार्यान्वयनमा ल्याउनु पर्ने अपरिहार्यता रहेको देखिन्छ ।
उद्देश्य
व्यवस्थापन प्रणालीको एउटा महत्वपूर्ण औजार आधुनिक प्रविधिमा आधारित सूचना व्यवस्थापन प्रणाली पनि हो । सूचना व्यवस्थापन प्रणाली संस्थाको एक महत्वपूर्ण औपचारिक तथा स्थापित पद्धति हो जसबाट संस्थालाई आवश्यक पर्ने सूचनाहरुको निरन्तर प्राप्ति वा संकलन गर्ने, त्यस्ता सूचनाहरुलाई एकीकृत गर्ने, वर्गीकरण गर्ने, तुलना गर्ने, विश्लेषण गर्ने तथा सो बाट प्राप्त नतिजाहरुलाई संस्थाको आन्तरिक तथा वाह्य वातावरणमा समयबद्ध, कुशलतापुर्वक, र प्रभावकारी रुपले (Timely, Efficiently and Effectively) संप्रेषण गर्ने काम हुन्छ । सूचना ब्यवस्थापन प्रणाली वर्तमान समयमा कम्प्युटर, सफ्टवेयर, सर्भर, नेकवर्क लगायतका आधुनिक यन्त्र उपकरणहरुको आपसी संयोजन र मानवीय साधनको परिचालन तथा व्यवस्थापनमा आधारित हुन्छ । व्यवस्थापन सूचना प्रणाली भन्नाले कुनै पनि संस्थाको व्यवस्थापकीय र वित्तिय सूचना तथा तथ्याङ्कलाई कम्प्युटरको माध्यमबाट तयार गरिएको व्यवस्थित प्रणाली हो जसले सो संस्थाको सबै तहको सञ्चालन संबन्धी प्रतिवेदनहरू स्वचालित रूपमा उत्पादन गर्न सक्दछ । सो प्रणाली अन्तर्गत सबै सूचनाको श्रोत, सूचना सङ्कलन गर्ने कार्यविधि तथा यस प्रणालीका सरोकारवालाहरु पनि पर्छन् । व्यवस्थापन सूचना प्रणालीले प्रभावकारी रूपमा सांगठनिक निर्णय गर्न मद्दत गर्छ । समग्रमा व्यवस्थापन सुचना प्रणाली कम्प्यूटरमा आधारित प्रणाली हो जस्ले सरोकारवाला, निर्णयकर्ता संगठन भित्रका कार्य, क्रियाकलाप तथा संगठनात्मक व्यवस्थाहरु संगठित गर्न, मूल्याँकन गर्न र कार्यकुशलपूर्वक व्यवस्था गर्ने साधन (tools) उपलब्ध गराउँछ । यसमा निर्णय गर्न आवश्यक पर्ने सफ्टवेयर, आँकडा (data) श्रोतहरु जस्तै डाटावेश प्रणाली, हार्डवेयर (hardwares) का व्यवस्था, निर्णय सहयोग प्रणाली (प्रतिवेदन र सुचनाहरु), कर्मचारी व्यवस्थापन, आयोजना व्यवस्थापन तथा कम्प्यूटराईज्ड प्रकृयाहरु समावेश हुन्छन, जस्ले निकाय संचालन गर्न सक्षम तुल्याउँछ । सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (COPOMIS ) सहकारी तथा तथा गरिबी निवारण क्षेत्रको एक औपचारिक, स्वचालित र आधुनिक सूचना तथा संचार प्रविधि ( ICT) मा आधारित ब्यवस्थापन सूचना प्रणाली हो । यसबाट गरिब घरपरिवार लगायत सहकारी संघ \ संस्थाहरुको सूचना ब्यवस्थापन सम्बन्धी कार्य सम्पादन हुन्छ ।
- सहकारी संघ, संस्थाहरुको गठन स्थापना, कारोवार तथा वित्तीय अवस्था सम्बन्धि भरपर्दो एवं अद्यावधिक सूचना, आँकडा एवं तथ्याँकहरु वास्तविक समयमा प्राप्त हुने ।
- सहकारी क्षेत्रको वास्तविक स्थिति तथा प्रगति आँकलन एवं अनुमान गरी सरोकारवाला निकायहरुलाई सहकारीसम्बन्धी उपयुक्त निर्णय लिन सघाउ पुग्ने ।
- सहकारी संघ, संस्थाहरुको अनलाईन (इलष्लिभ) र अफलाईन (इााष्लिभ) अनुगमन कार्य प्रभावकारी हुने, अनुगमनमा लाग्ने समय बचत एवं अनुगमन लागत कम गर्न सघाउ पुग्ने ।
- सहकारी संघ, संस्थाको आर्थिक कारोवारको वित्तिय र व्यवसायिक जोखिमको पहिचान यथा समयमा हासिल भै सम्भाव्य उपचारका उपायहरु उचित रुपमा अवलम्बन गर्न सकिने ।
- सहकारी संघ, संस्थाहरुको वर्गिकरण लगायत सहकारी क्षेत्रमा संचालन गर्न सकिने सम्भाव्य उद्योग, ब्यवसायहरुको लागि कार्यक्रम, योजना, आयोजना र बजेटको अनुमान गर्न सहयोग पुग्ने तथा पूंजी परिचालनको लागि सम्भाव्य क्षेत्र पहिचान गर्न सकिने ।
- सहकारी संघ, संस्थाको वित्तिय र गैरवित्तिय कारोवारहरुको सूचना लिई समग्र मूल्याँकन गर्न सकिने ।
- गरिबी निवारण तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यहरुमा प्रभावकारी समन्वय स्थापित भै सरकारी तथा गैरसरकारी निकायहरु वीचको सहकार्यमा उपलब्ध साधन, श्रोतको उच्चतम सदुपयोग गर्न सकिने ।
- आम नागरिकहरुले सहकारी दर्ता, अभिलेख र सहकारी तथा गरिबी सम्बन्धी सूचना, तथ्याकंको सेवा छिटो छरितो रुपमा प्राप्त गर्न सक्ने ।
- राष्ट्रिय, केन्द्रीय तथा जिल्ला स्थित सहकारी संघ र सहकारी बैंकहरुले आफ्ना सदस्यहरुको वित्तीय तथा संस्थागत अवस्थाका सम्बन्धमा जानकारी हासिल गरी प्रवद्र्धनात्मक तथा क्षमता विकासका कार्यक्रमहरु संचालन गर्न मदत पुग्ने ।
- सहकारी संघ, संस्थाका सदस्यहरुले आफु सदस्य भएको संघ, संस्थाको वित्तीय, गैह्र वित्तीय तथा ब्यवस्थापकिय काम कारवाही बारे सहज रुपमा जानकारी हासिल गर्न सक्ने ।
- सहकारी संघ, संस्थाका काम कारवाहीलाई पारदर्शी बनाई संस्थागत सुशासन अभिवृद्धि गर्न सघाउ पुग्ने ।
- Created at : Dec 13, 2018
- Updated at : Dec 13, 2018